भौचर अपलोड गर्नुहोस् लगिन

पार्टीको नेतृत्व गरेको ३५ वर्ष भइसक्यो, छोड्छुभन्दा पनि सुख छैन : प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिबाट आएको परिवर्तन रक्षाका लागि पार्टी र देशको नेतृत्वमा आफू पुगिरहेको बताएका छन् । शनिवार काठमाडौँमा पार्टीका नेता राम कार्कीको लेखहरूको पुस्तक विकल्प समाजवाद र मुक्त दुनियाँ विमोचन गर्दै अध्यक्ष प्रचण्डले विकल्प आएमा आफू नेतृत्व छोड्न तयार रहेको आशय व्यक्त गरेका छन् । 

कार्यक्रममा प्रचण्डले भने–‘म नेतृत्वमा रहेको नै ३५ वर्ष भइसक्यो । छोड्छु भन्दापनि सुख छैन । तपाईँहरूले भन्न सक्नुहुन्छ अब प्रचण्डले छोडिदिनुपर्छ फलानो आउनुपर्छ भन्न सक्नुहुन्छ ? तपाईँहरूले भनिदिनुभयो भने मत खुसी हुन्छु । तर परिस्थिति त्यस्तो हुँदैन । मैले हिजो युद्धकलादेखि नै प्रत्येक पटक स्कुलिङ गर्दा युवाहरूलाई विद्रोह जनताको अधिकार हो, विद्रोह क्रान्तिकारीहरूको पनि अधिकार हो र जिम्मेवारी पनि हो भन्दै आएको हो । केही साथीहरूले विद्रोहको अधिकार पनि प्रयोग गर्नुभयो तर नयाँ बिचार, सिद्धान्त ल्याएर क्रान्ति अगाडि बढाउन सक्नुभएन ।’ 

उनले विभिन्न देशमा भएका क्रान्तिको उदाहरण दिँदै प्रत्येक क्रान्तिले प्रतिक्रान्ति जन्माउने बताए । मार्क्सकै शब्दमा क्रान्तिले सँगै शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै त्यसका विरुद्ध विकसित हुने बताउँदै उनले एकपटक क्रान्ति भएपछि प्रतिक्रान्ति हुँदैन, प्रतिगमन आउँदैन, प्रतिगमन र प्रतिक्रान्तिसँग लड्नुपर्दैन भनेर सोचियो भने त्यो मार्क्सवाद नहुने बताए । 

उनले भने–‘कुन चाहिँ क्रान्ति भएपछि त्यो कसको नेतृत्वमा निरन्तर गएको छ र ? हामी अक्टोबर क्रान्तिको कुरा गर्छौ, लेनिनले त्यसको ६ वर्षपछि आफ्नै सत्तालाई वाहियात, भ्रष्ट र बेकारको सत्ता भनेर गाली गर्नुपर्ने अवस्था किन आयो ? हामीले त्यसको पनि समीक्षा गर्नुछ ।’ 

उनले हिजो जनयुद्ध गर्दा, शान्ति सम्झौता र संविधानसभा चुनाव आफूले युवाहरूलाई अहिले एक्काइसौँ शताब्दीमा विज्ञान प्रविधिको विकास, सामाजिक वर्गहरूको स्थितिमा आएको परिवर्तन, अर्थतन्त्रको विकासमा आएको परिवर्तनको गम्भीर समीक्षा नगरी बनिबनाउ रूपमा एकपटक क्रान्तिको नेतृत्व गरेको व्यक्तिले निरन्तर नेतृत्व गरिनै राख्नुपर्छ भन्ने कुनै अनिवार्यता नभएको बताउने गरेको सुनाए । आफूले  एकाधिकारै जमाउन खोजेको हो भन्ने देखिए पनि आफ्नो इच्छाकै कारण मात्र त्यस्तो नभएको उनले बताए । 

शान्ति सम्झौतामा आएपछि धेरै साथीहरूले विद्रोहको अधिकारको प्रयोग गरेको बताए । पार्टी नेतृत्व बिग्रियो भने त्यसलाई ठोक्नुपर्छ भनेर आफूले भन्ने गरेको बताउँदै पार्टीमा विद्रोह गर्नेहरूले नयाँ सिद्धान्त र क्रान्ति दिन नसकेको बताए । 

उनले अहिले देशमा वामपन्थी विचलनबाट सङ्कट आएको हो कि दक्षिणपन्थीहरूले पैदा गरेको सङ्कट हो भन्ने प्रश्न रहेको र यो अत्यन्तै गम्भीर रहेको बताए । अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको, जनयुद्ध गर्नु हिंसा थियो, त्यो अपराध थियो भन्ने कुरा सुनिरहेको बताउँदै परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्छ भन्ने पक्ष पनि रहेको उल्लेख गरे । उनले नेतृत्व जनता र इतिहासको आन्दोलनले जन्माउने पनि उल्लेख गरे ।

प्रतिक्रिया

;