गैर आवासीय नेपाली लेखक खेम शर्माले हालै सम्पन्न गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय परिषद्को दशौँ विश्व सम्मेलनमा भएका विवाद र फुटबाट अझै पनि जोगाउन सकिने उपाए भएको बताएका छन् । गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय परिषद्को मानार्थ सदस्यसमेत रहेका उनी उक्त संस्था र आन्दोलनको एकताका पक्षमा काम गरिरहेका युवा पनि हुन् ।
उनले गैर आवासीय नेपाली सङ्घलाई एकताबद्ध राख्न विशेष सम्मेलन बोलाउनुपर्ने धारणा राखेका छन् । साथै उनले नेपालमा गैर आवासीय नेपालीको लगानी अझै बढ्न नसकेको त्यसका लागि राजनीतिक स्थायित्वको अझै जरुरत रहेको बताउँदै हालै अर्थ मन्त्रीले गरेको आह्वानअनुसार सबै नेपालीलाई डलर खाता खोल्न पनि उनले अनुरोध गरेका छन् । प्रस्तुत छ रातोपाटीले उनीसँग गरेको कुराकानी :
–हालै सम्पन्न गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलनको सन्देश के हो ?
यो सङ्घको दशौँ सम्मेलनले विभिन्न समूहमा विभाजित साथीहरूलाई तीन जना अध्यक्ष, दर्जनौँ कार्यकारी र सयौँ अन्य पदमा व्यवस्थापन गरेको छ । तर यसको सन्देश पक्कै सकारात्मक रूपमा गएको छैन । हामी गैरआवासीय नेपालीले नेपाल र नेपालका नेताहरूलाई उदाहरणीय काम गरेर देखाउनुपर्ने हो । तर त्यस्तो नगरी नेपालका राजनीतिक दलकै सिको गरेर जम्बो पदाधिकारीसहित तीन अध्यक्षात्मक व्यवस्था गर्यौँ । त्यो हामी जस्ता हजारौँ गैर आवासीय नेपाली अभियानका एकताबद्ध अभियन्ताहरूले चाहेको बाटो अवश्य थिएन ।
–यो त एउटा समूहभित्रको मात्र व्यवस्थापनको कुरा हो । पूर्वअध्यक्ष शेष घलेकै अगुवाइमा भएको अर्को सम्मेलनले अर्को कमिटी पनि निर्माण गरेको छ, यसलाई कसरी लिनुभएको छ ?
अघि पनि भनेँ दुवै पक्षलाई मिलाएर कमिटी निर्माण गर्ने अभियानमा मजस्ता धेरै मध्यमार्गी साथीहरू लागेकै थियौँ । हामीले पद लिएनौँ र पद प्राप्तिलाई प्राथमिकतामा पनि राखेनौँ । यो दुई दुईवटा कमिटीको निर्माण, त्यो पनि जम्बो, तीन तीन जनाले अध्यक्षता गर्ने जस्ता विषय वास्तवमै एनआरएनएकै इतिहासमा दुःखद अवस्था हो । यो राम्रो सङ्केत र सन्देश होइन ।
–गैर आवासीय नेपाली आन्दोलनभित्रको आजको आवश्यकता चाहिँ के हो ?
–एकै वाक्यमा भन्नुपर्दा अहिले पनि एकताको आवश्यकता नै प्रमुख हो । एउटा सम्मेलन याक एन्ड यतीमा र अर्को सम्मेलन होटल हिमालयमा भएबाट एकातिर एनआरएनएभित्र एक प्रकारको नकारात्मक भूकम्प नै गएको छ । अर्कातिर एनआरएनएमा आबद्ध गैरआवासीय नेपालीले नेपाललाई केही सिकाउलान् भनेको उल्टै नेपालका राजनीतिक दलको सिको गरे भन्ने टिप्पणी भइरहेको छ । तसर्थ एघारौँ सम्मेलनअघि नै एक विशेष सम्मेलन गरेर एकतासहित एकल अध्यक्षात्मक प्रणालीमा सङ्गठनलाई लैजाँदै एकताको सन्देश प्रवाहित गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।
–विशेष सम्मेलनको कुरा उठाउनुभयो, कति सम्भव होला ?
अवश्य सम्भव छ । दुनियाँमा कुनै कुरा असम्भव भन्ने छैन । हामी जस्ता मध्यमार्गी र राजनीतिका रूपमा तटस्थ अभियन्ताको दृष्टिकोणलाई नजरअन्दाज गर्ने छुट दुवै पक्षका नेतृत्वलाई र उहाँहरूलाई फुट्न प्रेरित गर्ने खेलाडीहरूलाई छँदै छैन । अर्को कुरा आजका मितिमा उहाँहरू हट्नुपर्‍यो र नेतृत्व हामीलाई दिनुपर्याे भन्ने माग पनि त हाम्रो होइन । नेपाली माटोलाई केही न केही योगदान गर्न सकौँ भन्ने पवित्र भावना निर्माणका लागि बनेको गैरआवासीय नेपालीहरूको सङ्गठन केही व्यक्तिहरूलाई पदीय व्यवस्थापन गर्ने प्लेटफर्म बन्नु दुर्भाग्यपूर्ण छ । तसर्थ एकताको विशेष सम्मेलनको कुरा उठाएको हुँ । हामी ढिलो चाँडो त्यो बाटोमा नगई सुखै छैन ।
–एनआरएनएभित्रको मूल समस्या र त्यसको समाधान चाहिँ के हो नि ?
व्यक्तिलाई दोषारोपण गर्न चाहन्नँ म । तर मूल समस्या भनेकै इगोको लडाइँ हो जस्तो लाग्छ मलाई । मै भए वा मेरै समूहको भए मात्र राम्रो हुन्छ भन्ने सोच एनआरएनएभित्रको मूल समस्या हो । यसलाई चिर्न सकिएन भने एनआरएनए पनि टुटफुटमै हराएर जाने दिन आउन सक्छ । त्यसैकारण मैले एकताको विशेष सम्मेलनको कुरा उठाएको हुँ । हाम्रो मुख्य ध्यान विदेशमा हामीले सिकेको सीप र हामीले आर्जन गरेको पुँजी आफ्नो जन्मभूमिमा भित्र्याएर समृद्ध नेपाल निर्माणमा हाम्रो शक्ति खर्चिनु पर्दथ्यो । तर हामी नेपालको राजनीतिमा आएको विकृतिबाट अछुतो रहन सकेनौँ । टुटफुटदेखि तीनजना अध्यक्ष हुँदै जम्बो सङ्गठनसम्म जबरजस्ती हामी पुग्यौँ । तथापि म जस्ता हजारौँ साथी छौँ, जो सङ्गठनलाई एकतामा रूपान्तरण गर्न लागिरहेका छौँ । एक दिन सफल हुन्छौँ, त्यो सफलता टाढा छैन ।
–अलिकति लगानीको सन्दर्भमा कुरा गरौँ । विदेशमा आर्जित पुँजीको ससानो अंशले पनि नेपाल निर्माणमा टेवा पुग्न सक्थ्यो । नेपालमा एनआरएनएका माध्यमबाट आशातीत पुँजी भित्रिन सकेन । तपाईंलाई के लाग्छ ?
धेरथोर दोषी त हामी गैरआवासीय नेपाली पनि हौँला । तर मूल दोष भनेको नेपालको राजनीतिक अस्थिरता नै हो । व्यक्ति वा कुनै पनि सङ्गठित संस्थाले लगानी गर्नु पूर्व लगानीसँगै प्रतिफलको निश्चिन्तता खोज्छ । आजको मितिमा नेपालमा गरिएका लगानी र त्यसको सुनिश्चितताका लागि राजनीतिक स्थायित्व नै मूल आधार हो । जबसम्म राजनीति अस्थिर रहन्छ तबसम्म लगानीको वातावरण बन्नै सक्दैन । लगानीको वातावरणका निम्ति राजनीतिमा पनि सुधार आउन जरुरी छ । म यहाँ कोही कसैमाथि दोषारोपण गर्न चाहन्नँ । समग्रमा दोषी हाम्रा राजनीति सञ्चालकहरू नै हुन् ।
दोस्रो कुरा नेपालका राजनीतिक दलले एनआरएनएलाई आफ्नो दल निकट बनाइराख्ने सोचभन्दा पनि आम गैरआवासीय नेपालीको साझा मञ्च नै बन्न दिएर नेपालमा लगानीका लागि जुनसुकै दलको सरकार भए पनि सहज वातावरण निर्माण गरिदिन सक्नुपर्थ्यो । त्यो विषयमा पनि नेपालका सरकार चुक्दै गएको देखिन्छन् ।
–पुँजी भित्र्याउन नेपाल सरकारले पटक पटक आह्वान गरेकै छ त होइन र ?
आह्वानले मात्र पुग्दैन । लगानीको वातावरण नै बन्न सकेको छैन । नेपालका प्रशासनिक कामहरू ज्यादा झन्झटिला छन् । हामी विदेशमा रहेका नेपालीहरू नेपालका हरेक प्रशासनिक कार्यालयमा फाइल बोकेर धाउँदा नै थाकिसकेका हुन्छौँ । प्रशासनिक काम यति झन्झटिलो बनाउनै हुन्न । लगानी भित्र्याउन कम्तीमा राज्यले सहज वातावरण र विश्वासयोग्य अवस्थाको निर्माण गर्न सक्दा मात्र बहुराष्ट्रिय कम्पनीदेखि गैरआवासीय नेपालीसम्मले नेपालमा लगानी गर्ने हुन् ।
–नेपालका अर्थ मन्त्रीले सजिलोसँग डलर खाता खोल्न पनि आह्वान गरेका छन् । उक्त आह्वानलाई के भन्नुहुन्छ ?
यो निकै सकारात्मक कुरा हो । नेपालका अर्थमन्त्रीले आफै हामी गैर आवासीय नेपालीहरूलाई डलर खाता खोल्न आह्वान गर्नु भएको छ । हामी उक्त कुराको सम्मान गर्दछौँ र म आफै पनि नेपालबाहिर रहनुभएका सबै नेपालीलाई नेपाल सरकारको यो आह्वानलाई सम्मान गर्दै डलर खाता खोल्न र नेपालको अर्थतन्त्रलाई योगदान गर्न हार्दिक अपिल पनि गर्छु ।
प्रतिक्रिया